१४ भदौ, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहविरुद्धको अनुसन्धान सुरु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट चोरिएको सुनबारे अदालतमा मुद्दा दायर भएको झण्डै दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तस्करीमा संलग्न समूहमाथि अनुसन्धान थालेको हो ।
दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले बुधबार पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर संगठित अपराध र अवैध सुन चोरी पैठारीको कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको सीआईबीका एसपी नवराज अधिकारीले बताए ।
दुई महिना अघि आपराधिक विश्वासघात र संगठित अपराधमा सुन चोरी गर्ने समूहविरुद्ध मात्रै मुद्दा दायर भएको थियो । ‘राहुलको पक्राउसँगै सुन ल्याउने समूहविरुद्ध अनुसन्धान गर्न सीआईबीले ६० दिन समय पाएको छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘यो अवधिमा सुन ल्याउने चिनियाँ नागरिकहरुबारे पनि अनुसन्धान हुन्छ ।








































