काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनमा स्व. पुष्पलाल श्रेष्ठको भूमिका अतुलनीय रहेको बताएका छन् । श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा उल्लेख्य योगदान दिएको उल्लेख गर्दै प्रचण्डले पुष्पलालको प्रशंसा गरेका हुन् ।
सोमबार पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले युगान्तकारी राजनीतिक परिवर्तनसहितको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न पुष्पलालले गरेको योगदान अनुकरणीय रहेको बताए । ‘नेपालको कम्युनिस्ट आन्दोलन मात्रै नभएर सिंगो कम्युनिस्ट आन्दोलन अघि बढाउन उहाँको निक्कै ठुलो योगदान छ’, प्रचण्डले भने ।








































