नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताए ।
प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्याउने गरी बोल्न नमिल्ने उनले बताए । त्यस्तै, प्रतिपक्ष नेकपा (एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको उनले बताए । स्थिर सरकारको परिकल्पना गरेर पाँच–पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनले बताए ।
महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनी विगतको स्मरण गराए ।
त्यस्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटी देखाएको बताए । प्रधानमन्त्रीको राजीनामा माग गरेको एमाले पुनः पछि हटेको बताउँदै उनले एमालेले परिपक्व राजनीति नगरेको बताए ।
कांग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नु भएको टिप्पणी गरे । संसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए । निरन्तर संसद बैठक अवरुद्ध गर्न नहुने उनले बताए ।








































