साविक च्याम्पियन गुजरात टाइटन्स र आईपीएलको सफल टोली मुम्बई इन्डियन्सबीच आज राति फाइनल प्रवेश भिडन्तमा प्रतिस्पर्धा हुँदैछ। समूह चरणमा गुजरातकै कारण प्लेअफमा पुगेको मुम्बई अब गुजरातलाई नै हराएर चेन्नईसँगको भेट पक्का गर्ने ध्याउनमा रहँदा गुजरात भने आफ्नो विजेता छवि कायम राख्न चाहन्छ।
नेपाली समयअनुसार साँझ ७ः४५ मा हुने क्वालिफायर–२ को भिडन्त अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ। खेल जित्ने टिमले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईको सामना गर्दा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। दुई टिमबीच प्लेअफमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
मुम्बईले आफ्ना १० प्लेअफमा चौथो पटक क्वालिफायर–२ खेल्न लागेको हो। यसअघि ३ पटक क्वालिफायर–२ खेल्दा २ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको थियो। मुम्बईले २०११ मा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भए पनि २०१३ मा राजस्थान र २०१७ मा कोलकातालाई हराएर मुम्बई क्वालिफायर–२ मार्फत फाइनल पुगेको थियो।
प्लेअफमा पहिलो पटक २ टिम प्रतिस्पर्धा गरे पनि प्रतियोगिताको लिग चरणमा अहिलेसम्म यी दुई टिमबीच ३ पटक प्रतिस्पर्धा भएको छ। २ खेलमा मुम्बईले जित्दा एक खेलमा गुजरातले जित निकालेको छ।
यो सिजन दुई खेल हुँदा दुबै टिमले समान १–१ खेलमा जित निकालेका थिए। अहमदाबादमा भएको खेलमा गुजरातले जितेको थियो। त्यसैले अहमदाबादमा क्वालिफायर–२ मा पनि सोही नतिजाको प्रतिक्षामा गुजरात रहेको छ।








































