प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गर्नु संविधानको स्पिरिटअनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले संविधानको संरक्षकको रूपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्कसमेत गरे । उनले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग पनि गरे ।
‘राष्ट्रपतिले छलफल गरिरहनुभएको छ निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा । आज पनि त्यो समाचार दैनिक पत्रिकाहरूमा पढ्दा बडा दुःख लागेको छ । म सरकारलाई आग्रह गर्दछु– त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभाका ल्याएर दर्ता गरोस्,’ उनले भने, ‘त्यसमाथि छलफल सुरु गरोस् । हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौँ । तर, धुलो लागेर बसेको विधेयकलाई टकटक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ ? संविधानको संरक्षकले गर्ने काम हो यो ।’
सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने पनि बताए ।
‘म राष्ट्रपतिज्यूलाई विनम्रतापूर्वक आग्रह गर्दछु– यो प्रतिनिधिसभाको, राष्ट्रियसभाको अधिकार उहाँबाट नखोसियोस् । यो विधेयक यहाँ आउनु पर्यो । विधेयक जारी गर्ने, त्यसलाई छलफल गर्ने, त्यसलाई कानुन बनाउन प्रारम्भिक काम गर्ने दायित्व हाम्रो हो । यो अधिकारको सुरक्षा होस्,’ उनले भने ।








































