नवलपुरको एक सामुदायिक वनभित्र शरीरको अंग काटिएको अवस्थामा मृत चितुवा फेला परेको छ। जिल्लामै उत्कृष्ट पिकनिक स्पटका रूपमा रहेको देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो।
डिभिजन वन कार्यालयका अनुसार चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा बयस्क भाले चितुवा मरेको भेटिएको हो। खुरसहितका चारवटै खुट्टा र दाह्रासहितको बंगारा नभेटिएकाले तस्कर गिरोहको संलग्नता भएको हुन सक्ने वन कार्यालयको जिकिर छ। कार्यालयका सहायक वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार अखेटोपहारको गैरकानुनी र अवैध धन्दामा संलग्न तस्करको गिरोहले मारेको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको छ।
जंगलमा घाँस–दाउरा गर्न गएका महिलाको समूहले वनको धेरैभित्र अप्ठेरो खोँच (ढुंगे ओडारजस्तो ठाउँ)मा सुतिरहेको बाघ देखिएको भनी खबर गरेपश्चात् वन कर्मचारी–प्राविधिकसहितको टोली घटनास्थल पुगेको थियो। सड्ने स्थितिमा पुगेको र गन्हाउन थालेकाले उक्त चितुवालाई ४–५ दिनअघि नै मारिएको हुन सक्ने पण्डितको भनाइ छ।
वन कर्मचारी र प्राविधिकसहितको टोली र स्थानीय अगुवाको रोहवरमा सिनो पुरेर विसर्जन गरिएको छ। अरू वेलाभन्दा फरक प्रकृतिमा मरेको भेटिएकाले जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीसमक्षसमेत अनुसन्धान र संदिग्धको खोजपडतालमा सुरक्षा निकायलाई परिचालन गर्न आग्रह भएको उनले बताए।

वैशाख २४ गते आइतबार फेला परेको मृत चितुवाको मरण प्राकृतिक नभएको भन्दै थप अनुसन्धानका लागि सबडिभिजन वन कार्यालय देवचुली बुलिङटारका प्रमुख लीलाराज खकुराललाई अनुसन्धान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ। यद्यपि, अहिलेसम्म अनुसन्धानमा ठोस उपलब्धि भएको छैन।
पछिल्लो समय यो सामुदायिक वन सञ्चालक समितिविहीन छ। जिल्लाकै नमुना सामुदायिक वनमध्ये पर्ने घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिउपर वनसम्बन्धी मुद्दा लागेपछि ०७९ माघदेखि वन कर्मचारी र हेरालुको भरमा चलेको छ।








































