नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको उनले बताए । उनले मिटरब्याज पीडितको आन्दोलनमा षड्यन्त्रको आशंका व्यक्त गरेका छन् ।

सरकारसँग सहमति भइसकेपछि पनि आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी रचेको हुनसक्ने आरोप लगाए । कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै उनले सजग रहन आग्रह गरेका छन् ।
‘मैले आउँदै गर्दा मिटरब्याजीहरु सिंहदरबारअगाडि आएर धर्नामा बसेको देखेँ,’ उनले भने, ‘सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्न जरुरी छ ।’
छानबिन र दण्ड गर्ने कुरा भइसकेपछि पनि अनेक खालको षड्यन्त्र हुनसक्ने आशंका गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन ।
यसअर्थमा अनेकौँ खालका षड्यन्त्र हुन सक्दछन् । हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ ।’
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु छरिएर रहनु राम्रो नभएको जिकिर गरे ।








































