काठमाडौं– कुशल मल्लले विष्फोटक शतक बनाएको एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले ओमानविरुद्ध उत्कृष्ट जीत हासिल गरेको छ ।
शुक्रवार कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ३११ रनको विशाल लक्ष्य दिएको थियो । जसलाई ओमानले भेट्टाउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएको हो ।
प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जीत हो । यो नेपालको ५०औं ऐतिहासिक वान डे पनि रह्यो । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रह्यो ।
जीतका लागि ३ सय ११ रनको लक्ष्य पाएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन मात्र बनाउन सक्यो ।ओमानका लागि मोहम्मद नदिमले बनाएको ६५ रन नै सर्वाधिक उच्च व्यक्तिगत स्को रह्यो । उनले ८४ बलको सामना गरेर सात चौका तथा एक छक्का प्रहार गरेका थिए ।









































