काठमाडौं।
पोर्चुगल पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वर बस्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा. वडा नं. ६ पाखरटोल स्थाई घर भएका २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार ताहाचालबाट पक्राउ गरेको हो।
भण्डारीले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु र पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभन देखाएर करिब १० जनाबाट पटकपटक गरि पन्ध्र लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगार विभागले भण्डारीलाई पक्राउ गरिदिन पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरि कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाएको छ।








































