मड्रिड : स्पेनिस ला लिगामा शनिबार राति रियाल मड्रिडले क्याडिजलाई २–० को गोलको नतिजामा पराजित गरेको छ। क्याडिजको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलविहीन थियो।
तर, औरेलिन चोआमेनीले दिएको पासमा नाचो फर्नान्डेजले गोल गर्दै ७२औं मिनेटमा भ्रमणकारी रियाललाई अग्रता दिलाएका थिए।
त्यसको चार मिनेट नबित्दै रियालले अग्रता दोब्बर पार्यो। फेडेरिको भल्भर्देले दिएको पासमा मार्को एसेन्सियोले गरेको गोलसँगै रियालले निर्धारित ९० मिनेटको खेल सकिन १४ मिनेट बाँकी हुँदा २–० को अग्रता बनायो।
सोही अग्रताको बचाउ गर्दै रियालले २९ खेलमा १९औं जितसहित ६२ अंक जोड्यो। दोस्रो स्थानमा रहेको रियाल लिग लिडर बार्सिलोनाभन्दा १० अंकले पछाडि छ। समान खेलबाट ३१ अंक जोडेको क्याडिज १५औं स्थानमा छ।









































