काठमाडौं : मन्त्रिपरिषद बैठक बस्दैछ। बैठक आज अपरान्ह बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। बैठकमा सरकारका कामकारबाही,मिटरब्याजी पीडितलाई सम्बोधन गर्नेगरी ल्याइने विधेयकलगायत विषयमा छलफल हुनेछ
प्रधानमन्त्रीका प्रेस संयोजक शर्माका अनुसार आजको बैठकमा मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय हुनेछ। सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको छ । यससम्बन्धी कानुन ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको शर्माले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन गरेका छन्। टोलीमा गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,उपसचिव दिलकुमार तामाङ,प्रधाानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा रहेका छन्।
मंगलबार बिहान मिटरब्याज पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार गएका थिए। बालुवाटार निषेधित क्षेत्रमा पर्ने भन्दै प्रहरीले उनीहरूलाई जान नदिएपछि त्यहीबाट फर्किएका छन्।
सोही क्रममा गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोलीले पीडितसँग छलफल गर्न खोजेका थिए। तर,पीडितरहरूले प्रधानमन्त्रीसँग छलफलका लागि समय मिलाइन दिन आग्रह गरेका थिए।
गृहसचिव नेतृत्वको टोलीले मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न नसकिने बताएको थियो। मिटरब्याजी पीडितहरूको समस्या वर्तमान कानुनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको उनीहरूको भनाइ छ।
तराईबाट १२ दिन हिँडेर मिटरब्याजीविरुद्ध न्यायको खोजी गर्दै काठमाडौं आइपुगेका हुन्। सप्तरी, सिरहा, धनुषा,महोत्तरीलगायत जिल्लाबाट आएका करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने अडानमा छन्।
सोमबार धर्नाका लागि पीडितहरूले खुलामञ्च प्रवेश गर्दा काठमाडौं महानगरपालिकाले रोकेपछि उनीहरू खुला आकाशमुनि रात बिताउन बाध्य भए। मिटरब्याजीहरूले उठिबास बनाएको भन्दै उनीहरू हिँडेर न्यायका लागि राजधानी आएका हुन्।








































