काठमाडौं – बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र ११ गते शनिबार शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा सात र नौ का विद्यार्थीहरुलाई आफ्नो नवनिर्मित अत्याधुनिक हलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको छ ।
शैक्षिक सत्र २०७९ मा संचालन भएका फुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, रोड रेस, रिले रेस लगाएतका विभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गर्नुभएको थियो ।
एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये कक्षा ७ का छात्र मनिष राउत ६ वटा विधा, कक्षा ९ कि छात्रा जेनिशा खत्री ८ वटा विधा तथा कक्षा ९ कै छात्र प्रितम राई ९ वटा विधामा पुरस्कृत भए । आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी साथै उत्साहित रहेको कक्षा ७ मा अध्ययनरत छात्र इभांशु पोखरेल तथा कक्षा ९ मा अध्ययनरत छात्रा श्रीना खरेलले बताए ।
पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा अभिभावकहरुको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो ।








































