राष्ट्रपति निर्वाचन जितेको भए एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रको शीर्ष पदमा पुग्ने पहिलो जनजाति नेता हुन्थे । तर, संसदीय निर्वाचनमा कहिल्यै नहारेका उनी राष्ट्रको सर्वोच्च पदमा भने विजयी हुन सकेनन् । नेम्वाङको अपराजित राजनीतिक यात्रामा बिहीबार ब्रेक लागेको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेम्वाङले हार व्यहोर्नुपर्यो ।
पूर्वी नेपालको इलाममा जन्मेका हुन्, नेम्वाङ । इलाम नगरपालिका- ७, सुन्तलाबारीमा २८ फागुन २००९ मा जन्मिएका उनले अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । उनी अनेरास्ववियुमा लागेर २०२९ सालबाट कम्युनिस्ट राजनीतिमा सक्रिय भएका थिए ।
नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । राजनीतिमा सक्रिय हुनुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसायी रहेका उनी पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल परेका थिए ।
संसदको यात्रा
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेको पहिलो कम्युनिस्ट सरकारमा नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भए । २०५६ सालको निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययनमन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा भ्रष्टाचार काण्ड छानबिन गरेर चर्चामा आएका थिए ।
नेम्वाङ २०४८ देखि हालसम्म लगातार सांसद छन् । बीए र बीएल गरेका नेम्वाङ प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाका हुन् । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए भने नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त भएको छ । गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।
२०६२/०६३ को जनआन्दोलन सफलतापछि विघटित संसद पुनर्स्थापना भएको थियो । ४ जेठ २०६३ को बैठकमा सभामुखको हैसियतमा राजाको अधिकार खोस्ने, धर्मनिरपेक्षता र संविधानसभा निर्वाचनबारे महत्त्वपूर्ण प्रस्ताव पारित गराएका थिए । जसलाई नेपाली ‘म्याग्नाकार्टा’ का रूपमा चर्चा गरिएको थियो । उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बनेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भई संविधानसभाको अध्यक्ष भए । २०७० सालको संविधानसभा निर्वाचनपछि पनि उनी अध्यक्ष दोहोरिए । २०७२ मा संविधानसभाबाट जारी संविधानको प्रमाणीकरण उनै नेम्वाङले गरेका थिए । संविधान जारीपछि बदलिएको समीकरणमा ओनसरी घर्तीमगर व्यवस्थापिका संसद सभामुख बनेकी थिइन् । शिलापत्रबाट








































