घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो । नेपालले दिएको २९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेटको क्षतिमा २४५ रन मात्रै बनायो ।
पपुवा न्युगिनीका नोरमन भनुवाले ६० रन बनाए । त्यस्तै, टोनी उराले ५०, कप्तान असद भालाले ४२, किप्लिन डोरिगाले २६, रिले हेकुरेले २० र चार्ल्स अमिनीले १४ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिएका छन् । उनले पपुवा न्युगिनीका रिले हेकुरे, हिरी हिरी, चाड सोपर र टोनी उरालाई आउट गराए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिएका छन् । उनले चार्ल्स अमिनी र सेसे बाउलाई तीन रनमा पेभेलियन फर्काए । कुशल मल्लले एक विकेट लिए । उनले कप्तान असद भालालाई आउट गराए ।
पपुवा न्युगिनीले पहिलो विकेटको लागि ७७ रनको साझेदारी गरेको हो । टोनी उरा र डोरिगाले पपुवा न्युगिनीलाई राम्रो सुरुवात दिलाए । तर त्यसपछि भने पपुवा न्युगिनीले दोस्रो विकेट ८८ र तेस्रो विकेट ९२ रन हुँदा गुमाएको थियो । यसपछि भने पपुवा न्युगिनीले राम्रो खेल्न सकेन । तर आठौँ नम्बरमा ब्याटिङ गर्न आएका भनुवाले अर्धशतक बनाउँदै टिमलाई उकास्ने प्रयास गरे ।
यसअघि टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको हो । ४९.१ ओभरमा सबै विकेटको क्षतिमा नेपालले २९७ रन बनाएपछि पपुवा न्युगिनीले विशाल लक्ष्य पाएको हो ।
नेपालले बनाएको यो एकविदसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक उच्च रन हो । यसअघि नेपालले टियू मैदानमै नामिबियाविरुद्ध तीन विकेटको जित निकाल्दा सर्वाधिक २८७ रन बनाएको थियो ।
पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी रन बनाउने क्रममा नेपालका आशिफ शेखले शतक बनाए । उनले ११० बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ११० रन बनाएर आउट भए । आशिफको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको पाँचौँ शतक हो । यसअघि पूर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कुशल भुर्तेलले शतक बनाएका थिए ।
आशिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग उत्कृष्ट प्रदर्शन गर्दै ११० रनको साझेदारी गरेका थिए । नेपालले उत्कृष्ट सुरुवात गरेपछि पपुवा न्युगिनीले ठूलो लक्ष्य पाएको हो । नेपालका लागि कुशल भुर्तेल ४५, भीम शार्कीले ४३, कप्तान रोहितकुमार पौडेल ३०, आरिफ शेख १५ रनमा आउट भए ।
पपुवा न्युगिनीका लागि सेमो कामेयाले पाँच र रिले हेकुरेले तीन विकेट लिए ।शिलापत्रबाट








































