काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बचाउ गरेको छन्।
एमालेबाट राष्ट्रियसभा अध्यक्ष भएका तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ र १०७८ माघ ९ गते गरेको संसद विघटनको समर्थन गरेका हुन्।
उनले सरकारले काम नै गर्न नसक्ने अवस्थामा संसद विघटन गरेर जनतामा जाने कुरा संसार भरकै अभ्यास भएको टिप्पणी गरे। बुधबार पारिवारिक निजी वन संघ नेपालको ९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिना संसद विघटनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
उनले भने, ‘संसद विघटन गर्नेकुरा दुनियाँमा जहाँ पनि जनप्रतिनिधिमुलक संस्था ठिकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो। नेपालमा त्यो भइरहेको थियो। अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ। संविधानले त्यही भनेपछि त त्यही भन्नुपर्छ । तर कस्तो विडम्बना केही नगरेर, केही नदिने, भागबण्डा गरेको छ, पार्टी फुटायो, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबण्डा ग¥यो, मन्त्री बाँड्यो, त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने। बरु चुनाव ग¥यो, अर्को कोही नयाँ आउँथ्यो, नयाँ आएर बहुमत ल्याउँथ्यो, त्यस्तो भएन। हामी आफ्ना बानी सुधार नगर्ने, नियम, ऐन, कानूनलाई दोष दिने। परिवर्तन गर्ने भन्ने, परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँँ पुग्छौँ।’
तिमिल्सनाले संविधानमा संसद विघटन नहुने व्यवस्था राखेकोप्रति नै असन्तुष्टि जनाए। ‘नेपालमा हामी राजनीति गर्नेहरुले पनि बारम्बार ऐन, कानून, संविधान बनाउँदा पनि एउटा अतिमा जान्छौँ । संविधान बनाउँदा के भयो भने यो नेपालमा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ,तिमिल्सिनाले अगाडि भने, ‘आफूले ढंग पु¥याएर चलाउन नसक्ने अनि कागजतमा दोष दिएर कहीँ चल्छ। अनि १२/१५ वटा पार्टी मिलेका छन्, नचले पनि घस्रेर ५ वर्ष त केही गर्नु हुँदैन।’
ओलीले आफू गरेको संसद विघटन ठीक भएको जिकिर संसदमै गरेपछि माओवादीसँगको सत्ता गठबन्धन धरापमा परेको छ। गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन ओलीले आफूले यसअघि गरेको संसद विघटन ठीक भएको र फेरि पनि गर्न सकिने बताएका थिए।
तत्कालीन सममया विघटनको विपक्षमा रहेको नेकपाको प्रचण्ड पक्ष (माओवादी) ओलीको भनाइबाट झस्केको थियो। माओवादीहरुले एमालेसँगको सहकार्य दुई महिनामै टुट्नुका पछाडि ओलीको उक्त अभिव्यक्ति जिम्मेवार रहेको बताउने गरेका छन्। बुधबार अध्यक्ष तिमिल्सिनाले ओलीलाई नै समर्थन हुने गरी बोलेका हुन्।
अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभइ झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको उनको भनाइ थियो।








































