गोरखा — मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवार बनेका सय वर्षीय टीकादत्त पोखरेलको निधन भएको छ ।
शुक्रबार चितवनमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सिरानचोक गाउँपालिका–४ छोप्राकमा १९८० कात्तिक १४ मा जन्मिएका पोखरेलले २००४ सालमा नेपाली कांग्रेसको मुक्ति सेनामा लागेर राजनीतिक जीवन सुरु गरेका थिए
पोखरेललाई डेढ महिनाअघि पित्तथैलीको समस्या देखिएको थियो । ‘पित्तथैलीको समस्या देखिएपछि अस्पताल लगेर उपचारपश्चात घरमा स्वास्थ्य लाभ गरिरहनुभएको थियो,’ सिरानचोक गाउँपालिका–४ छोप्राकका सीपी पोखरेलले भने । शुक्रबार नै पोखरेलको देवघाटमा दाहसंस्कारको तयारी गरिएको छ । पोखरेलका ४ छोरी र ३ छोरा छन् ।
गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले १३० मत प्राप्त गरेका थिए । चुनावी प्रचारकै क्रममा कात्तिक १४ गते उनले सय वर्ष पुगेको अवसरमा जन्मोत्सवसमेत मनाएका थिए । कान्तिपुरबाट







































