उपत्यकामा रहेका देशका विभिन्न जिल्लाका बासिन्दाले अब काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र पाउन सक्नेछन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कामकाजको सिलसिलामा काठमाडौंमा रहेका विभिन्न जिल्लाका बासिन्दाले परिचयपत्र पाउने व्यवस्था गरेको जनाएको छ। काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भई हाल काठमाडौं उपत्यकामा बसोबास गरिरहेका नागरिकका लागि राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्टि गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले जानकारी दिए।
यसरी राष्ट्रिय परिचयपत्र बनाउन पाँच स्थान तोकिएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालय, ललितपुर जिल्ला प्रशासन कार्यालय, नारायणहिटी दरबार परिसर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्ला र मधेश प्रदेशका पर्सा र धनुषाका बासिन्दाले परिचयपत्र बनाउन सक्नेछन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै मधेश प्रदेशका सप्तरी र सर्लाहीका बासिन्दाले परिचयपत्र बनाउन पाउनेछन्।
नारायणहिटी दरबार परिसरबाट कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्लासँगै मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतहटका बासिन्दाका लागि परिचयपत्र बनाउने व्यवस्था गरिएको छ।
यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीले मात्र परिचयपत्र बनाउन पाउनेछन्।
राष्ट्रिय सभा गृहबाट सरकारी कर्मचारीका परिवारजनले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक कागजात:
१) नागरिकताको प्रमाणपत्रको सक्कल,
२) बसाइँ सरी आएकाको हकमा बसासराई प्रमाणपत्रको सक्कल,
३) विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल,
४) कर्मचारी भए कार्यालयको सिफारिश र पूर्व कर्मचारी भए पेन्सनपट्टा।








































