धनुषा ।
सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको भन्दै गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने बताएका छन् ।
एमाले नेतृत्वको सात दलीय गठबन्धनका कारण केही समय राजनीतिक असहज रुपमा अघि बढे पनि अहिले जनमतअनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको सिंहले बताए। उनले भने,‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो। अहिले जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ । अब आठदलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्छ ।’
उनले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेकाले कुनै पनि द्विविधा नराख्न आग्रह गरेका छन्।








































