काठमाण्डाै – आजकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति विरोध जनाउनुभएकाे छ ।
उहाँले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन । तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो । जनयुद्ध दिवसको उपलब्धि के हो ? कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र ?’
उहाँले सडक जाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्रीले किन नसकेको हो भन्दै त्यस सम्बन्धमा संसदलाई जानकारी गराउन माग गर्नुभयो ।








































