काठमाडौं ।
बर्दियामा बीमा दाबी गर्न आफ्नै गाडी जलाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सोमबार पक्राउ गरेको हो।
सोमबार बिहान २ बजे मधुवन नगरपालिका-४ बसन्तामा एक गाडीमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले बताए।
उक्त घटनाको अनुसन्धानको क्रममा चालक चौधरी आफैंले बिमा रकम दाबी गर्न आगजनी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त गाडी गत माघ २० गतेदेखि बिग्रिएको थियो। मर्मत गर्न बढी रकम लाग्ने भएपछि चालकले आइतबार राति ८ बजेतिर उक्त गाडी जंगलमा लगेर डिजेल छर्केर आगजनी गरेका थिए।








































