नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काइदिने दाबी गरेका छन्।
‘१० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्योलोमा आएर भत्काउने प्रयत्न रहन्छ, भत्काउँछौँ’, थापाले बताए ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएको बताए।
जनताको म्यान्डेटविपरीत बनेको भएकाले वर्तमान सत्ता गठबन्धन भत्काउने उनले दाबी गरेका हुन्।
निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनता निराश भएका उनको भनाइ थियो। जनताको म्यान्डेटअनुसार सत्ता गठबन्धन अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
चुनावअगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाले बताए।
नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे ।

उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिन एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गरे ।
उनले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंहदरबारबाटै शीतलनिवासको लेटरप्याड र रबर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गरे ।








































