काठमाडौं । सत्ता समीकरणका कारण एमालेसँगको सहकार्यमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रति पछिल्लो समय कांग्रेसले देखाएको सदासयताले राजनीतिमा तरङ्ग पैदा गरिदिएको छ ।
कांग्रेसले माओवादी केन्द्रले दिएको राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी नै नदिएर राजनीतिक रुपमा अर्को चाल चलेको भन्दै सत्ता गठबन्धनमा आशंका र दरार सिर्जना हुन थालेको छ ।
कांग्रेस एमालेसँगको गठबन्धनबाट माओवादीलाई अलग्याएर पुरानै गठबन्धन ब्यूँताउने प्रयासमा जुटेपछि अबको राजनीतिक कोर्ष कता जाला ? कांग्रेस–माओवादीबीचको सामिप्यता दीर्घकालीन बन्ला प्रश्न उठ्न थालेको छ ।
प्रधानमन्त्रीकै लागि टाढीएका नेकपा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बिचको सामिप्यता फेरी बढ्दै गएको छ ।
अप्रत्याशित रुपमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस सत्ता गठबन्धनका अन्य दलहरुसंग कठोर बनिरहँदा माओवादी प्रति भने लचकता दर्शाइरहेको छ ।
आइतबार कांग्रेसको राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णयले पनि उक्त कुरालाई थप बल पु¥याएको छ ।
परिस्थितिले प्रतिपक्षमा पुगको कांग्रेस राष्ट्रपति निर्वाचनसम्म माओवादीलाई साथमा लिएर सरकारमा प्रवेश गर्ने दाउमा छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस यसअघि भएको सभामुख र उपसभामुखको निर्वाचनमा एमाले र रास्वपाका उम्मेदवारविरुद्ध आफ्ना उम्मेदवार खडा गरेको थियो ।
सत्ता गठवन्धनमा राष्ट्रपतिको बिषयमा खटपट चलिरहेका बेला माओवादी प्रति कांग्रेसले देखाएको सदासयताले भने एमाले सशंकित बनेको छ ।
यता, गठबन्धन दलहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री प्रचण्ड पनि विकल्पको खोजिमा लागेका छन् । कांग्रेसबाट ग्रिन सिग्नल पाएका प्रधानमन्त्रीले बारम्बार राष्ट्रिय सहमतिको बिषयलाई जोड दिइरहेका छन् । माओवादी केन्द्र सकभर राष्ट्रिय सहमति नभए विचार मिल्ने दलहरुसंग सहकार्य गर्ने बिषयमा अगाडी बढेको छ ।
कांग्रेसको अघोषीत सहयोगले सत्ता राजनीतिमा बलियो देखिएका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय नदिएकै कारण रास्वपा सरकारबाट बाहिरिएको छ ।
यस्तोमा सत्ता गठबन्धनको जग झनै कमजोर बन्दै गएको छ । सत्ता गठबन्धनको भविष्यबारे अन्यौलता कायमै रहेका बेला कमाओवादी केन्द्रलाई प्रतिपक्षी दल कांग्रेसको समर्थनले दुई दलबीचको सहकार्य नहोला भन्न सकिने अवस्था भने छैन ।








































