गोरखा ,माघ-७
जनप्रतिनिधिहरुले आफ्नै सम्पत्ती झैँ सरकारी सम्पत्तिको हिनामिना र दुरुपयोगको गरिरहेको घटना बाहिर आईरहँदा गोरखामा पनि यस्ता घटना घटेका छन् । यसको पछिल्लो उदाहारण हो गोरखा नगरपालिकाको डोजर दुरुपयोग ।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाको निर्देशनमा कार्यालयको डोजर माओवादी पार्टी कार्यालयसंग जोडिएको जग्गा खन्न प्रयोग भएको छ । नेकपा माओवादी केन्द्र गोरखाको पार्टी कार्यालय छेउको जग्गा खन्न गोरखा नगरपालिकाको डोजर प्रयोग भएको बताइएको छ । ‘मेयर साबले भनेर पठाएको हो, अरु थाहा छैन’ एक कर्मचारीले भने । दुईदिन अघि केही घण्टा नगरपालिकाको डोजर माओवादी पार्टी कार्यालय पाटेचौरको तल्लो भागमा रहेको मैदान बनाउन सित्तैमा प्रयोग भएको थियो ।
नगरपालिकाले नगरभित्र बाटोघाटो बनाउन, बिपद्वमा प्रयोग गर्न उक्त डोजर किनेर चलाउँदै आएको बताएको छ । तर नगरप्रमुख रानाले निशुल्क माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन डोजर पठाएपछि चौतर्फी आलोचना भएको छ । यसबारे सिमपानीले मेयरसंग जानकारी लिन खोज्दा सम्पर्कमा आएनन् ।








































