विश्वकप फुटबलमा घाना र पोर्चुगलबीच समूह ‘एच’अन्तर्गत बिहीबार राति प्रतिस्पर्धा हुँदैछ। रोनाल्डो प्रेरित पोर्चुगल घानाविरुद्ध मैदान उत्रिँदा आफ्नो दाबेदारी छविलाई बलियो बनाउने ध्याउनमा हुनेछ। तर घाना भने पोर्चुगलसँग विश्वकपमा नै भएको दोस्रो भेटमा अघिल्लो बदलासहित जारी विश्वकपमा सनसनीपूर्ण प्रदर्शनको प्रतिक्षामा रहेको छ।
विश्वकपका सुरुवाती खेलहरुमा अनपेक्षित नतिजाले सशंकित बनेको पोर्चुगल अफ्रिकन देश घानाविरुद्ध तुलनात्मक रुपमा बलियो मानिन्छ। फिफा वरियतामा ६१ औँ स्थानमा रहेको घाना आफूभन्दा ५२ स्थानमाथि रहेको पोर्चुगलविरुद्ध मैदान उत्रिँदा तुलनात्मक रुपमा कम दबाबमा हुनेछ। जित्नुपर्ने दबाबले पोर्चुगललाई भने असर गर्न सक्ने छ।
यद्यपि, स्टार खेलाडीले भरिएको पोर्चुगिज टिम सहज रुपमा जितको अपेक्षामा रहेको छ। कतारस्थित स्टेडियम ९७४ मा राति ९ः४५ मा हुने खेलमा पोर्चुगल स्टार खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, राफायल लियो, रुवेन नेभेस, विलियम कार्भाल्हो, नुनो मेन्डेस, रुवेन डियास, जोओ क्यान्सेलो र गोलरक्षक डिएगो कोस्टाको साथमा हुनेछ। त्यसो त जोआओ फेलिक्स, डिएगो डालोट, राफयल गुरेइरो, पेपे र रुई प्याट्रिसियो पनि साथमा छन्।
घाना भने इनाकी विलियम्स, मोहम्मद कुडुस, जोर्डन एयु, तरिक लाम्टे र थोमस पार्टेलगायत खेलाडीको बलमा पोर्चुगललाई दबाब दिने प्रयासमा हुनेछ।
समूह एचमा पोर्चुगलले घानासँगै उरुग्वे र दक्षिण कोरियाविरुद्ध खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’का रुपमा हेरिएकाले पहिलो खेलको हारजितले नै नकआउटको सम्भावनालाई असर पार्ने भएकाले दुबै टिम जितको प्रयासमा हुनेछन्।
यसअघि २०१४ को विश्वकपमा एक अर्काविरुद्ध भिड्दा पोर्चुगल २–१ ले विजयी भएको थियो। त्यसलाई ८ वर्षपछि पोर्चुगल आफ्नो रवाफ थप बलियो बनाउने प्रयासमा हुँदा घाना भने बदलासहित अर्को ‘सरप्राइज’ नतिजाको प्रतिक्षामा हुनेछ।








































