नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । महाकाली नदीपारि तावाघाट लिपुलेक सडक विस्तार गर्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले दार्चुलाको व्यास गाउँपालिका २ दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो । गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउन परराष्ट्रलाई शनिबार पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएकाले रोखिएको थियो ।
नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउन माग गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई जानकारी दिन आग्रह गरिएको छ ।
भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतक बालकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध गराएको छ ।








































