छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएका छन् ।
जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सिङ्गारिएका छन् ।
यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलका रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् । बजारमा छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घर–घरमा छठीमैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् ।
सूर्य देवतालाई पहिलो दिनको अर्घ्य अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सझुका अरख’ भनिन्छ । सूर्य देवतालाई खासगरी उक्त दिन अर्घ्य दिइने गरिन्छ, जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसैअनुरुप उदयकालमा दिइने अघ्र्यका लागि समेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अघ्र्य’ दिइन्छ ।








































