काठमाडौं । असोज ७ गते रिलिज भएको चलचित्र ‘प्रेम गीत–३’ अहिले पनि हलमा प्रदर्शनरत छ । हिन्दी र नेपाली दुवै संस्करण प्रदर्शन भइरहेका छन् ।
नेपाल र भारतसहित विश्वका अन्य देशमा पनि चलचित्र प्रदर्शनमा छ । नेपालमा सुरुका तीन दिन नेपाली संस्करण मात्रै प्रदर्शन भए पनि त्यसयता दुवै संस्करण चलिरहेका छन् ।
हाल नेपालमा नेपाली संस्करणभन्दा हिन्दी संस्करणले मल्टिप्लेक्समा उच्च शो पाइरहेको छ ।
नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा आज अपराह्नपछि नेपाली संस्करणलाई १८ शो उपलब्ध छ भने हिन्दीलाई २७ शो दिइएको छ ।
नेपालीभन्दा हिन्दी संस्करण नेपालमा रुचाइएको हो भन्ने जिज्ञासामा ‘प्रेम गीत–३’ निर्माता तथा निर्देशक सन्तोष सेन भन्छन्, “दुवै संस्करण उत्तिकै मन पराइएको छ । तर, हिन्दीभन्दा नेपालीलाई केही कम शो छ । सुरुका तीन दिन नेपालीले शोलो रिलिजको अवसर पाएकाले पनि अहिले हिन्दीमा धेरै दर्शक देखिएको हो ।”
नेपालमा ‘प्रेम गीत–३’ले हालसम्म ७ करोड ग्रस कलेक्सन गरेको सन्तोषको दाबी छ । उनका अनुसार हिन्दी र नेपाली दुवै संस्करणले बुधबारसम्म जम्मा करिब ७ करोड ग्रस कलेक्सन गरेका छन् ।
भारतलगायत अन्य देशबाट पनि ७ करोडभन्दा केही बढी आईसी कलेक्सन भइसकेको उनको दाबी छ । भारतमा सुरुका दिनभन्दा पछिल्लो समय दर्शकको उपस्थिति बलियो रहेको उनको भनाइ छ । “मुम्बइमा मात्रै आज ३५ शोभन्दा धेरै छ । वर्ड अफ माउथका कारण भारतमा शो थपिने क्रम बढेको छ,” उनले भने ।
सिनेमा रिलिज हुँदा भारतमा रहेको निर्देशक र मुख्य कलाकारको टोली अहिले भने नेपालमा छ । पूर्वी नेपालका सहरसहित पोखरा हुँदै सन्तोष सेन, प्रदीप खड्कालगायतको टोली बुधबार राति काठमाडौं आइपुगेको छ । आजबाट कलाकारसहितको टोली हलहलमा पुग्ने सन्तोष बताउँछन् ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्








































