यूएई सरकारले कोरोना महामारी रोकथामका लागि जारी गरेकाे अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम हटाउँदै लगेको छ । बुधबारदेखि लागू हुनेगरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्कलगायत विभिन्न सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन नपर्ने गरी यूएईको कानुन मन्त्रालयले नियम परिर्वतन गरेको खलिज टाइम्सले जनाएको छ ।
खलिज टाइम्सका अनुसार अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउनुपर्ने छ भने मस्जिदमा पनि मास्क अनिवार्य छै ।
वेटर, डेलिभरी ब्वाइ लगायत प्रत्यक्ष ग्राहकसँग जोडिएर गरिने काम गर्दा भने मास्क लगाउनुपर्ने छ । कोरोना पोजेटिभ भएको छ वा मिल्दोजुल्दो लक्षण देखिएमा पनि मास्क लगाउनुपर्ने । यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउनुपर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा स्वेच्छाले मास्क लगाउँदा हुन्छ तर अनिवार्य भने छैन ।
यूएईको सरकारी निकायले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो गराउने क्रममा यो पहिलो चरण भएको र अन्य नियमबारे पनि छिट्टै जानकारी गराउने जनाएको छ ।








































