- ADVERTISEMENT -

समानुपातिक सूची सर्वसम्मतिले टुंगो लगाइएको कांग्रेसको दाबी

September 28, 2022
573
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाइएको स्पष्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवारहरुको नामावली टुंगो लगाएको बताए ।
कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची पेस गरेको हो । प्रवक्ता महतले भने, “प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुंगो लगाउँदा पार्टीका पदाधिकारीहरुबीच घनिभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको छ ।”
आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि दल दर्ता गराउने, निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको बताउँदै उनले समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमाभित्र गरिने उल्लेख गरे । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशील हुन निर्देशन गरेको उनले जानकारी दिए ।
यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको जानकारी गराउँदै प्रवक्ता महतले सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने बताए ।

घोषणापत्र तयार हुँदै
कांग्रेसले आगामी मङ्सिर ४ गते हुुने निर्वाचनका लागि घोषणापत्र तयार समिति गठन गरेको छ । समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरुबाट फेसबुक, ह्वाट्सएप, क्युआर कोड, म्यासेन्जर, इमेल, ट्विटर, इमोजस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणापत्रमा सुझाव लिइरहेको उनले बताए । घोषणापत्र बनाउने काम सुरु भइसकेको छ ।
फरक प्रसंगमा उनले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यावहारिक भएको गुनासो सर्वत्र व्याप्त रहेको उल्लेख गरे । उनले भने, “गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् ।”
प्रधानमन्त्री कांग्रेसको सभापति पनि भएको बताउँदै प्रवक्ता डा. महतले भने, “मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौं ।”

- ADVERTISEMENT -

Advertisement

संवैधानिक सर्वोच्चतामा प्रहार
संसद्को दुवै सदनबाट दुई–दुईपटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लिखित समयावधिमा प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको कांग्रेसको आरोप छ । राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको महतले बताए । अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको उनको ठम्याइ छ ।

उनले आ–आफनो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउन नेता कार्यकर्तालाई आग्रह गरे ।
प्रवक्ता महतले आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले नेपाली कांग्रेसका उम्मेदवारहरुले गठबन्धनलाई सफल बनाउन लागिपर्ने हो भने आगामी निर्वाचनपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । उनले आगामी निर्वाचन पछि बन्ने नेपाली कांग्रेसको सरकारले नै देशमा सुशासन, लोकतान्त्रिक संस्थालाई मजबुतिकरण, समृद्धि, विकास, युवा रोजगारीको पहुँचमा आम जनतालाई पुर्‍याउने दाबी गरे । प्रवक्ता महतले ५ दलीय गठबन्धनलाई अन्तिम रुप दिने काम भइरहेको र दुई दिनभित्र नै सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -