जोमसोम : विश्व पर्यटन दिवसका अवसरमा जोमसोम विमानस्थलमा पर्यटकलाई भव्य स्वागत गरिएको छ।
अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन् भन्दै पोखरा-जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ आइपुगेका विदेशी पर्यटकलाई मंगलबार जोमसोम विमानस्थलमा भव्य स्वागत गरिएको हो।
हवाइमार्गबाट मुस्ताङ अवतरण गरेका पर्यटकलाई स्वागत गर्न मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्मा, जिसस प्रमुख माया गुरुङ, घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली, सुरक्षा निकाय, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, एक्याप, पुथाङ महिला समूह र स्थानीय पर्यटन व्यवसायीहरू जोमसोम विमानस्थलमा पुगेका थिए।
उनीहरूले जोमसोम विमानस्थल अवतरण गरेका पर्यटकलाई ढाका टोपी, पछ्यौरा, खाँदा र फूल उपहार दिएर भव्य स्वागत गरे।
भारतको कोलकत्तादेखि मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका भारतीय पर्यटक डा. ज्योतिष भारती सिंद्धिनाथले पर्यटन दिवसमा मुस्ताङको पर्यटक आतिथ्यताले आफूलाई उत्साहित तुल्याएको बताए।
उनले मुस्ताङ जिल्ला अतिनै सुन्दर रहेको र यहाँबाट फर्किएपछि सबै भारतीयलाई मुस्ताङ घुम्न अनुरोध गर्ने बताए।
दिवसमा मुस्ताङ आइपुगेका पर्यटकलाई भव्य स्वागतपछि एक्याप जोमसोमको पर्यटक चेक पोष्टको प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, एक्यापका कार्यालय प्रमुख अशोक सुवेदी र पुथाङ महिला समूहकी पूर्व अध्यक्ष मोहनकुमारी शेरचन लगायतले मुस्ताङको पर्यटन विकास र प्रर्वद्धनमा सरोकारवाला निकायले पहल गर्नुपर्ने बताए।
गापाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटन व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताए।
कोभिड अघि वार्षिक ६० हजार विदेशी पर्यटक मुस्ताङ आउने गर्थे। कोभिडपछि यहाँको पर्यटन प्रभावित बनेको थियो।
कोरोना संक्रमण न्यूनीकरण भएका कारण गत वर्षदेखि मुस्ताङको पर्यटन विस्तारै लयमा आउन थालेको हो। गतवर्ष ३८ हजार विदेशी पर्यटक मुस्ताङ आएका थिए।








































