काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको घोषणापत्र लेखन समितिअन्तर्गत गठित विषयगत उपसमितिले मस्यौदा लेख्दै छ ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको घोषणापत्र लेखन समितिले काम गरिरहेको छ । समितिले १६ विषयगत उपसमिति बनाएको र क्षेत्राधिकारभित्र बसेर मस्यौदा लेखन कार्य गरिरहेको समिति सदस्य डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“विषयगत समितिले काम गरिरहेको छ । आज हाम्रो शिक्षा समितिको बैठक छ । अन्य उपसमितिले पनि आ–आफ्नो मस्यौदा लेखन कार्य भइरहेको छ,” उनले भने ।
पौडेलका अनुसार दसैँअघि सम्पूर्ण विषयगत समितिले मस्यौदा बुझाइसक्नेछन् । सबै विषयगत समितिबाट आएका मस्यैदाहरू एकत्रित गर्न नेता डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।
यस्तै, सहमहामन्त्री जीवन परियारको नेतृत्वमा तीन सदस्यीय दस्तावेज अध्ययन समिति पनि बनाइएको छ । “दसैँअघि डा. स्वर्णियम वाग्लेको फाइनल ड्राफ्ट समितिले सबै विषयगत समितिको मस्यौदालाई एकत्रित गरेर घोषणापत्र समितिलाई बुझाउनेछ,” उनले भने ।
वाग्ले नेतृत्वको समितिले मस्यौदा बुझाएपश्चात् ४२ सदस्यीय घोषणापत्र लेखन समितिले फाइनल रूप दिनेछ । त्यसपछि घोषणापत्र तयार हुने उनले बताए ।








































