मनास्लुको हिमपहिरोमा परेर घाइते भएकामध्ये ८ जनाको उद्दार कार्य शुरू भएको छ ।
सोमवार २ जनाको उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएकोमा आज (मंगलवार) थप ८ जनाको उद्दार गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी प्रवक्ता एसएसपी शारदा प्रसाद चौधरीका अनुसार ८ जनाको काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
उनीहरूलाई सो क्षेत्रबाट उद्दार गरी अहिले सानागाउँमा राखिएको चौधरीले जानकारी दिए ।
उद्दार गरिएका ८ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको एसएसपी चौधरीले जानकारी दिए ।
घाइतेहरूको पहिचान खुल्ने क्रम रहेको उनको भनाइ छ ।
उनले भने,’अहिले नाम टिप्ने काम भइरहेको छ । उनीहरूलाई आजै उपचारका लागि काठमाडौं पठाइनेछ ।’
घटनामा मृतक भएका एक जनाको पहिचान खुल्न सकेको छैन ।
घटनास्थल क्षेत्रको मौसम अहिले खुलेको भन्दै एसएसपी चौधरीले आजै उद्दारको काम सकिने जानकारी दिए ।
चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरू परेका थिए ।








































