चितवन, असोज १० गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले भरतपुरमा सोमबार आयोजना गरेको दशैँ तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रचण्डले केही वर्षदेखि नै प्रधानमन्त्रीको दौडमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएर अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर आएको थियो, अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु ।’’

राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दाबी गर्नुभयो । ‘‘मङ्सिर ४ मा चुनाव आउँदैछ, यहाँ प्रधानमन्त्रीको कुरा पनि आएको छ म प्रधानमन्त्रीको दौडमा छैन सबैलाई जानकारी गराउँदछु,’’ उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले थप्दै भन्नुभयो, ‘‘मङ्सिर ४ मा हुने निर्वाचनलाई कसरी सफल र सक्षम व्यक्तिले जित्ने भन्ने तर्फ लाग्नु पर्दछ अहिलेनै यो प्रधानमन्त्री भन्ने प्राथमिकता होइन ।  निर्वाचननमा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको र जनताको चाहना नै सबैभन्दा ठूलो हो । अब आर्थिक क्रान्तिको दशक बनाउने हो । हिजो जनयुद्धबाट हामी शान्ति प्रक्रियामा आयौं र मुलुकलाई शान्ति र स्थिरता दियौं अब हामी रुपान्तरण गर्ने जमर्को गरेका हौं ।’’

सबै राजनीतिक पार्टी मिलेरै यहाँको आर्थिक सुधार गर्नुपर्ने उहाँको तर्क छ । खर्बौका परियोजना नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने योजनामा आफू रहेको उहाँले बताउनुभयो । ‘‘नेपाललाई आर्थिक रुपमा सक्षम बनाउने अभिभारा हाम्रो काँधमा आएको छ यसलाई बुझेका छौं । यहाँको विकासलाई लिएर म चिन्तित छु ।,’’ उहाँले भन्नुभयो ।

कार्यक्रममा उहाँले प्रत्येक ठूलो क्रान्ति र परिवर्तनपछि प्रती क्रान्ति हुने खतरा हुने बताउनुभयो । पार्टीलाई बदनाम गर्ने व्यवस्था उल्ट्याउने खतरा बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

लोकतन्त्रको पक्षमा लड्ने व्यक्तिलाइ आक्रमण गर्ने, सामाजिक सञ्जालमा गालीगलौज गर्ने परिपाटी भएको छ यस्तो कार्य ठिक होइन उहाँले भन्नुभयो ।  समाजलाई कुन बाटोमा लैजाने भन्ने जनमत मिडियाले निर्माण गर्ने भएकाले सभ्य समाज निर्माणमा प्रेसको भूमिका रहेको अध्यक्ष दाहालले बताउनुभयो । मिडियाले अग्रगमन तर्फ चेतना दिन सकेमा समाज निर्माणमा सफलता प्राप्त हुने विश्वस व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायतले जनताको समस्या र आर्थिक समृद्धि तर्फ नेतृत्वले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

गोरखापत्र अनलाइनबाट साभार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्