इरानका राष्ट्रपतिले सरकार विरोधी प्रदर्शनकारीलाई कडा कारवाही गर्ने बताएका छन्। विगत एक हप्ताभन्दा लामो समयदेखि इरानमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ।

२२ वर्षीया युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा त्यसको विरोधमा प्रदर्शन हुँदै आएको छ। कपाल राम्रोसँग छोपिने गरी सल नओढेको भन्दै इरानको नैतिकता प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरी हिरासतमै रहेका बेला उनको शंकास्पद मृत्यु भएको थियो। प्रहरीले उनको टाउकोमा लौरीले हिर्काएको तथा उनको टाउको मर्काएको आरोप छ। सोही कारण उनको मृत्यु भएको बताइन्छ।

तर, प्रहरीले भने आफूहरूले महसामाथि गलत व्यवहार गरेको कुनै प्रमाण नरहेको दाबी गर्दै आएको छ। आकश्मिक रूपमा मुटुले काम गर्न छोडेकाले उनको मृत्यु भएको दाबी प्रहरीको छ।

तर प्रहरी ज्यादती र अत्याचारबाट उनको हत्या भएको भन्दै प्रदर्शनकारीले विरोध गरेका छन्। उनको सेप्टेम्बर १६ मा मृत्यु भएको हो।

महसाको निधनपछि इरानमा सरकारविरोधी प्रदर्शन भइरहेको हो। इरानका ३१ प्रान्तमा प्रदर्शन फैलिएको छ। राष्ट्रपति इब्राहिम रइसीले प्रदर्शनकारीसँग दृढ रूपमा लड्ने बताएका हुन्।

महसाको निधनपछि भएका प्रदर्शनको क्रममा ३५ जनाको हत्या भएको इरानका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदै आएको छ।

राष्ट्रपति रइसीले महसाको मृत्युका सम्बन्धमा अनुसन्धान हुने बताएका छन्। आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले महसामाथि कुटपिट नै नभएको दाबी गरेका छन्।

राजधानी तेहरानसहित इरानका प्रमुख शहरमा प्रदर्शन हुँदै आएको छ। सामाजिक सञ्जालमा साझा गरिएका तस्बिर तथा भिडियोमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको देखिन्छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्