काठमाडौँ — दसैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएपनि सडक मर्मत नभएको भन्दै यातायात व्यवसायीले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको ध्यानाकर्षण गराएका छन् । मन्त्रालयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सडक विभागका प्रतिनिधि लगायतको उपस्थितिमा भएको छलफलमा यथाशीघ्र सडक मर्मतको काम अघि बढाउनुपर्नेमा व्यवसायीले जोड दिएका थिए ।

सो क्रममा मन्त्री राईले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले बिग्रिएका, खाल्डाखुल्डी परेका राजमार्ग यथाशीघ्र मर्मत गरी सहज बनाउन सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई निर्देशन दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेश गरेका २१ बुँदे मागहरुको विषयमा अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न विभागलाई मन्त्री राईले निर्देशन दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार सडक विभागले सडक मर्मत गर्नका लागि छुट्टै सम्पर्क व्यक्तिहरु समेत तोक्ने निर्णय भएको छ । हाल दसैंका लागि बसको टिकट बुकिङ गर्न नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला लगायत स्थानका काउन्टरमा यात्रुको भीड लाग्ने गरेको छ । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुलाउने निर्णय भदौ २२ मा गरिसकेको छ ।
दसैं नजिकिँदै गर्दा पहिरोका कारण कतिपय सडक दूरावस्थामा छन् । पानी पर्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न समस्या भएको र ठाउँ–ठाउँमा मर्मतको काम थालनी भइसकेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘सडक मर्मतको काम सुरु भइसकेको छ,’ महानिर्देशक थापाले भने, ‘पानी पर्ने क्रम नरोकिँदा समस्या भएका छन्, सम्बन्धित डिभिजन र आयोजना कार्यालयहरुले पनि मर्मतको काम थालेका छन् ।’ घटस्थापनाबाट घर जाने यात्रुको चाप बढी हुने भएकाले त्यो बेलासम्म सबै सडक मर्मत गरिसक्नु पर्ने यातायात व्यवसायीको माग छ ।








































