काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीब्रता दिँदै आएको छ । हिजो मात्रै जय नेपाल हलको कम्पाउण्ड उत्खनन् गरेर गायब गरिएको टुकुचा खोला निकालेको महानगरले आज (शुक्रबार) नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अनधिकृत संरचना भत्काइएको छ ।
महानगरले सूर्य उजेली भवनमा कानूनविपरीत बनाइएका टहराहरूमा डोजर लगाएको हो । भत्काएको हो । यसका साथै बानेश्वर चोकको आकाशे पुल आसपास क्षेत्रमा बाटो ढाकिने गरी राखिएका पसलहरू पनि खाली गराएको छ ।
त्यस्तै, महानगरले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा पनि डोजर चलाएको छ । महानगरले ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भागमा डोजर लगाएको हो ।
यसका साथै महानगरले अन्य दुई वटा टहरा पनि हटाउने काम भएको जनाएको छ ।








































