सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरूलाई आग्रह गरेकी छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरूको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकिर गरिन् । उनले संविधानले व्यवस्था गरेको महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरू तयार नभएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन् ।
सांसद पन्तले महिलाहरू भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनोट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराए ।
उनले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरूको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गरिन् । सांसद पन्तले दसैं–तिहारजस्ता चाडबार्ड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।








































