सोलुखुम्बुमा २०६६ सालदेखि हालसम्म २२ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार ०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्यागेका हुन् ।
२०६६ सालमा चार जनाले, ०६८ मा दुई जनाले, ०७१ मा एक जनाले, ०७२ मा तीन जनाले, ०७४ मा तीन जनाले, ०७५ मा दुई जनाले, ०७६ मा चार जनाले, ०७८ मा एक जनाले र ०७९ को हालसम्ममा दुई जनाले नेपाली नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए ।
रोजगारीको सिलसिलामा विदेश गएर त्यही देशको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्ने अधिकांश अमेरिका गएकाहरू छन् भने केही अन्य युरोपियन मुलुकहरूमा गएका हुन् ।
यसका लागि स्वयम् नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ ।








































