पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी छोडेका छन् ।
नेकपा एकीकृत समाजवादीको आन्तरिक सर्कुलरले दोहोरो जिम्मेवारीमा नरहन भनेपछि उनले शनिबारदेखि पार्टीको जिल्ला अध्यक्ष नेता खड्क हमाललाई सुम्पेका छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा शनिबार पोखरामा भएको जिम्मेवारी हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रमबाट उपाध्यक्ष हमालले अध्यक्षको जिम्मेवारी पाएका छन् । आचार्य मेयर भएपछि कार्यवहाक अध्यक्षको जिम्मा हमालले नै सम्हाल्थे ।
पार्टीमा दुई जना उपाध्यक्ष हुने व्यवस्था छ । हमाल अध्यक्ष भएपछि रिक्त उपाध्यक्षको जिम्मेवारी पूर्ण लामालाई दिइएको एकीकृत समाजवादी कास्कीका उपसचिव डिकबहादुर राई (डिबी)ले जानकारी दिए । अर्का उपाध्यक्ष झपिन्द्र रेग्मी यथावत छन् ।
लामा अहिले उपसचिव थिए । उनी उपाध्यक्ष बनेपछि तीन जना उपसचिव हुनेमा एउटा पद खाली भएको छ । अरू कोही पनि नेताको जिम्मेवारी हेरफेर भएको छैन । ‘उपसचिव तीन जनामा अहिले दुई जना भयौँ । अर्को उपसचिव प्रदेश र प्रतिनिधिसभाको चुनावपछि अधिवेशन गरेर चयन गरिने छ,’ उपसचिव राईले भने ।
नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटी १ सय ५१ सदस्यीय छ । अध्यक्षको जिम्मेवारी पाएका हमाल यसअघि एमालेको जिल्ला कमिटी सदस्य थिए । माधव नेपालले एमालेबाट विद्रोह गर्दा कास्कीमा हमालसहित चार जनाले एमाले जिल्ला कमिटी सदस्य छोडेर एकीकृत समाजवादी गएका थिए ।








































