पर्सामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले बारा बिश्रामपुर गाउँपालिका-५ बस्ने २८ वर्षीय उत्तम पटेल र उनका दाइ ३० वर्षीय प्रितम पटेललाईपक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।
उनीहरूमाथि अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूले बिश्रामपुर गाउँपालिका-५इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको आरोप छ।
राजकुमार ठाकुर गत २४ गते मंगलबार बिहान ९ बजे ट्युसन पढ्न भनेर हिँडेका थिए। उनी ट्युसन पढ्न वीरगन्ज महानगरपालिका-१६नगवातर्फ साइकल चढेर गएका थिए। तर उनी सम्पर्कविहीन भएका थिए।
उनी घर नफर्किएपछि बुवा मोतिलालले छोरा हराएको भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए। अनुसन्धानको क्रममाप्रहरीले शुक्रबार बिहान वीरगन्ज-१६ नगवामा टेलर पसल सञ्चालन गर्दै आएका उत्तम र प्रितमलाई नियन्त्रणमा लियो।
उनीहरूमाथि सोधपुछ गर्दा राजकुमारको हत्या भएको खुल्यो।
उत्तम र उनका दाई प्रितमले मिलेर उनको हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
उनीहरूले राजकुमार र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शंकाका कारण हत्या गरेको खुलेको हो।
प्रेम सम्बन्ध रहेको शंका भएपछि उत्तम र प्रितमले मिलेर राजकुमारलाई आफ्नो टेलरिङ पसलमा लगेर हत्या गरेको प्रहरी नायबउपरीक्षक कार्कीले बताए।
उनका अनुसार हत्यापछि उनीहरूले बोरामा हालेर शव भारत पुर्याएका थिए।
ना ३८ प ४३९५ नम्बरको बाइकमा राखेर रक्सौलको रेलवे स्टेशनमा रहेको शौचालय छेउमा छाडेका थिए।
उनीहरूले सो कुरा बताएपछि पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमान्डमा टोली खटिएको थियो।
भारतीय प्रहरीसँग समन्वय गरी शव पोष्टमर्टम गर्न नारायणी अस्पतालमा ल्याएको थियो।
यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।








































