अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एककार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलकोसदस्यता पनि दिए ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंगबस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनैपनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक काँग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘काँग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेकोभनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा काँग्रेस नै ठीक लाग्यो ।’
साथै उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा हुनुहुन्छ, यसलेपनि मलाई काँग्रेस मन परेको हो,’ उनले भने ।
उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए। अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरेका छन् ।








































