नाम : सुशिला योगि ,ठेगाना : कालिकोट
कति निश्चल , पवित्र, अबोध अनि चन्चल थियो त्यो गुमाइआएको बालापन ।
हे मलाई जन्माउने मेरो ईश्वर तिमी कहिँ छौ भने कृपया मलाई मेरो बालापन फिर्ता गरिदेऊ ।
एक सानो परिवार जहाँ सिङ्गो सुन्दर संसार अटाएको थियो ।
आमाको ममता…
बाबुको वात्सल्य…
दिदीभाईको आड भरोसा..
समाजलाई हेर्ने र बुझ्ने मेरो नजरिया..
हरेक पल अपनत्वले गर्ने त्यो आनन्ददायी अंकमाल..
उफ् , स्मृतिमा कति ताजा छन् ।
त्यो सत्य युगको सताब्दी थियो ।
तर ,,
खै कुन युद्धमा गुम्यो त्यो सुन्दर संसार ?
न देख्न सक्छु , न भोग्न सक्छु । बस स्मृतिका पानाहरूमा समेटिएका छन् त्यसैले हरेक पल पानापाना पल्टाउने गर्छु ।
मलाई फिर्ता गरिदेऊ त्यो बालापन , त्यी प्रत्येक मीठा पल ,त्यो मेरो अबोध मन ।
मलाई फिर्ता गरिदेऊ मुस्कुराउँदै गरेकी मेरी आमाको मुहार ।
कहाँ बिलायो ?
कहाँ हरायो ?
कहाँ अस्तायो ? बिना कुनै संका सजिलै विश्वास गर्ने यो आफ्नै मन ।
मन यसै यसै पुलकित हुन्थ्यो ।
प्रफुल्लित हुन्थ्यो ।
हर्षहरु छाउथेँ वरिपरि,जताततै ।
खुसीहरू वसिन्थेँ वर्खाको भेल जस्तै…
अचेल त खडेरी छ ।
न हर्ष ,न उत्साह ,न उमङ्ग ।
सायद कहिँकतै डकमगाएकोछ मन , विचार अनि विश्वासका मुनाहरु नपलाउँदै सुकेका छन् ,मरेका छन् ।
महसुस हुन्छ अचेल त्यो बालापन त्यागी जवानीको संघार टेक्नु नै ठूलो भूल थियो । नासम्झि थियो ।
फर्किन मन छ त्यहीँ जहाँ म निश्चल , निस्वार्थ अनि अबोध थिए , तर जबजब म बालापनको मलाई सम्झन्छु र आफैसँग तछाडमछाड गर्छुतब समय बिचैमा खडा हुन्छ र धम्कीका साथ भन्छ ।
” म तिम्रो अधिन भन्दा बाहिर छु ,अब ढिला भैसक्यो ,तिमी अगाडि अनि तिम्रो बालापन पछाडि छुटिसक्यो ।”








































