काठमाडौं : नेपाल तरुण दलले दोलखाका यानबहादुर बस्नेतको मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं ३ झ्याकुका नेपाल तरुण दल वडा समिति सचिव बस्नेतको हत्या भएको तरुण दलको दावी छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गर्न माग गरेका हुन् । १० दिन अघि गाउँकै सर्सेपु गौराबारी भन्ने स्थानमा बस्नेत मृत भेटिएका थिए ।
तरुण दल अध्यक्ष गुरुङले बस्नेतको योजनावद्ध रुपमा हत्या भएको दावी गरे ।
‘उक्त पासविक र जघन्य अपराधिक घटना कुनै अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनावद्ध ढंगबाट गराईएको हुन सक्ने आशंका नेपाल तरुण दलले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले उक्त मानव हत्या जस्तो गम्भीर अपराधिक घटनाको छिटो भन्दा छिटो गहिरो अनुसन्धान गरी वास्तविकता पत्ता लगाई अपराधीलाई हदैसम्मको कानूनी कारबाही गर्न र आश्रीत परिवारलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न दल नेपाल सरकार र सम्बन्धित निकाय संग जोड्दार माग गर्दछ ।’
अध्यक्ष गुरुङले बस्नेतको मृत्युबाट नेपाल तरुण दलले एक जना होनहार लोकतन्त्रको पहरेदार गुमाएको बताए ।









































