काठमाडौं, आइतबार, १५ जेठ २०७९ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको छ । स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि ९प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष लाई तालिम दिन लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।
जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिम गर्न लागिएको छ ।
मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ तथा बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ मा जनप्रतिनिधिलाई तालिम दिने सरकारको तयारी छ ।
यसैबीच राजनीतिक दलहरूले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेका छन् ।








































