भरतपुर, मंगलबार, ३ जेठ २०७९ । चितवनको भरतपुरमा दुई घण्टा देखि रोकिएको मतगणना पुन सुरु भएको छ । सदर र बदर मतका विषयमा नेकपा एमाले र गठबन्धनका दलहरुबीच विवाद भएपछि भरतपुरको मतगणना रोकिएको थियो ।
मत सदर र बदर गर्दा वडापिच्छे फरक मापदण्ड राखिएको भन्दै एमालेले बिरोध जनाएको थियो भने गठबन्धनका दलहरुले कर्मचारीले सदर भएको मतलाईसमेत बदर गरेको भन्दै बिरोध गरेका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारीले कर्मचारीलाई मत गणनाका लागि दबाब दिएको भन्दै एमालेले बिरोध जनाएको थियो । विवादपछि बसेको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारीले माफी मागेको र विवादित कर्मचारीलाई मतगणनामा नराख्ने सहमति भएपछि पुन: गणना सुचारु भएको छ ।
मतगणना रोकिनु अघि गठबन्धनकी उम्मेदवार रेनु दाहालले नेकपा एमाले उम्मेदवार विजय सुवेदीमाथि झिनो अग्रता बनाउनुभएको थियो ।
भरतपुरको मतगणना रोचक हुँदै जाँदा यहाँ धेरैको चासो रहेको छ। नेकपा एमाले उम्मेदवार सुवेदी र गठबन्धन उम्मेदवार दाहालबीच मतमा कडा प्रतिस्पर्धा भइरहेको छ ।








































