काठमाडौँ, बिहिबार, २९ वैशाख २०७९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ
बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिएका हुन । उनले भने- ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’
चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको प्रवक्ता अर्यालकाे भनाइ छ ।
साथै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए/नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको पनि उनले जानकारी दिए ।
मतदान भाेलि बिहान ७ बजेदेखि कार्य सुरु हुनेछ भने बेलुकी ५ बजेसम्म जारी रहनेछ । ३५ हजार २ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।








































