काठमाडौं, वैशाख १२ गते । निर्वाचन आयोगको कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान गर्न थालेको छ । उम्मेदवारहरुको मनोनयनसँगै सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्न थालेपछि आयोगले त्यसको समाधान गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ ।
कल सेन्टरका प्रमुख मधुसुदन पुडासैनीले निर्वाचनका बेला नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासा, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्ने क्रम जारी रहेको बताउनुभयो । उहाँले कल सेन्टर गत चैत १५ देखि सञ्चालनमा आएको जानकारी दिनुभयो ।
कल सेन्टर सञ्चालनमा आएदेखि वैशाख ११ गतेसम्म तीन हजार ८५१ भन्दा बढी जिज्ञासाहरु आएको कल सेन्टरका प्रमुख पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कल सेन्टरमा नौजना जनशक्ति खटाइएको छ । आफूले नसकेको अवस्थामा सम्बन्धित महाशाखाका प्रमुखलाई सम्पर्कमा ल्याएर जिज्ञासाको समाधान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । पुडासैनीका अनुसार विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकोमा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले चार अंकको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।