काठमाडौं । श्रीलंका हिन्द महासागरमा रहेको एक सुन्दर सार्क देश हो । नीलो समुन्द्रको बीचमा र हरियाली वनजंगलले सजिएको यस सुन्दर टापुले शताब्दीयौंदेखि प्राकृतिक सौन्दर्यले गर्दा टाढा–टाढाका पर्यटकलाई आकर्षित गर्दै आएको छ । तर, यहाँ यस्तो समाचार प्रस्तुत हुँदैछ, जुन पढेर सायदै कुनै पर्यटकले श्रीलंका जाने सोच बनाउलान् ।
सन् १९४८ मा १५० वर्ष लामो बेलायती शासनबाट बाहिरिएको श्रीलंकाले स्वतन्त्र भएपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।
खाद्यान्न, दूध, ग्यास, मट्टितेल तेल, औषधि जस्ता अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ । १२–१३ घण्टा अर्थात् आधा दिनसम्म विद्युत् अवरुद्ध हुन्छ । पेट्रोल र डिजेलको लागि यस्तो लडाइँ हुन्छ कि पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपरेको छ ।
राष्ट्रपति गोताबाया राजापाक्षेलाई पद छाड्न माग गर्दै समस्यामा परेका जनता ‘गो गोताबाया गो’ नारा लगाएर सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले गत हप्ता कोलम्बोमा राष्ट्रपतिको घरबाहिर धर्ना दिएका थिए र त्यसको भोलिपल्ट शुक्रबार राति राष्ट्रपति राजापाक्षेले संकटकाल लागू गरेका थिए।
- ADVERTISEMENT -
शनिबार सरकारले सोमबार बिहानसम्म देशभर कर्फ्यू लगाएको थियो तर त्यसपछि आइतबार पनि प्रदर्शन भएको थियो । त्यसपछि प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनका भाइ तथा राष्ट्रपति गोताबाया राजापाक्षेबाहेक त्यहाँका २६ मन्त्रीले राजीनामा दिएका थिए ।
आइतवारसम्म राजपक्षे परिवारका पाँच सदस्य श्रीलंका सरकारमा मन्त्री छन् । जसमध्ये चार दाजुभाइ हुन् र पाँचौं यी भाइहरूमध्ये एकका छोरा हुन्।
राष्ट्रपति गोताबाया राजापाक्षे – जो रक्षामन्त्री पनि छन्, महिन्दा राजापाक्षे – प्रधानमन्त्री, चमल राजापाक्षे – सिँचाइ मन्त्री, बसिल राजापाक्षे – अर्थमन्त्री, नमल राजापाक्षे – खेलकुदमन्त्री (महिंदा राजापाक्षेका छोरा) ।
र, यस्तो अवस्थामा आक्रोशित प्रदर्शनकारीहरू अझै पनि ‘गो गोताबाया गो’ नारा लगाइरहेका छन् । राजापाक्षे परिवारको राजीनामाबिना मन्त्रीको राजीनामाको कुनै अर्थ नरहेको भन्दै राजपाक्षे परिवारले श्रीलंकालाई यो संकटमा पुर्याएको उनीहरुको भनाइ छ ।