काठमाडाैँ, २१ चैत्र २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवमा समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि भएको प्रष्ट पारे।
गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । उनले भने, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।”
गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो ।