काठमाडौं, मंगलबार, ८ चैत्र २०७८ । सर्वोच्च अदालतले आसन्न स्थानीय चुनावमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउसहित सो आदेश जारी गरेको हो । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको हो ।
निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयोगले बनाएको आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी हक प्रतिकूल भएको र उक्त प्रावधान खारेजीको माग गरेका थिए । उनले प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगो नभएको र स्थानीय तह पनि रिक्त हुने पनि रिट निवेदनमा दाबी गरेका थिए ।
आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
- ADVERTISEMENT -